top of page
Search

कविता:देश तिमी बुढो भयौ!

Updated: May 25, 2024

आज देश रोइरहेछ!

आफ्ना छोराछोरी यसरी

अर्कै देशको भएकोमा

उसलाई असह्य भैरहेछ!

म भन्छु उसलाई सम्झाए जसरी

माया त सबलाई तिम्रो उत्ति नै लाग्छ

छोड्ने बेला मन सबैको कुडिन्छ।


तिमीले जन्माएको समाज आज

यति निरीह भैदेको छ

चाहेर नि यसले तिमीसँग बस्न दिँदैन

के के गर्छौ? को को सँग लडाइँ गर्छौ?

कसकसलाई रोक्ने कोसिस गर्छौ?

आज कतिको सपना भएको छ

तिमीसँग बस्ने सधैँ सधैँको लागि

कतिन्जेल रोक्न सक्छौ उसलाई ??

के गर्छौ रोकेर? भोकै त मार्दैनौ नि?

भोक शोक अनि सपना!

बस् यत्ति छ तिम्रो सम्पत्तिको नाममा अब

हेर! मेरो पनि एउटा सपना छ

छोड्न लागेको कदम मुस्किलले रोकेको छु

कतिन्जेल रोक्न सक्छौ मलाइ!

बाआमाको पनि एउटै रहर छ

तिमीलाई नै सम्हालेको हेर्ने

ती बुढा आँखाले छोरी सरकारी

जागिर खाएको हेर्ने!

यही खेतमा फलेको चामलको

छ्ड्केको माडमा पसिनाको

नुन छर्की बाँकी सास अड्काउने!


सबै टाढिएको देखेर

तिमी डरले अत्तालिएका होलाऊ है?

तिमी पनि बुढा भएका हौ!

तिम्रा छोरा नाति तिमिलाई नै

पाल्न भनेर टाढा भएका हुन्

पराइ भएका होइनन् !

ती बेजान सहरका ठुला बिल्डिङमा

मान्छेहरू बस्दैनन्!

तिम्रै यादले घर बसाएका छन्

तिमी ढुक्क भएर बस

भारी मन आएर बिसाउने

अन्तिम आँचल तिम्रै हुनेछ!


- सीता न्यौपाने

 
 
 

इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page