top of page
Search

कविताःशताब्दीलाई प्रश्न

नेभाराका दाना जस्ता प्रेम


नटिप्न कहाँ सक्नु र ?


पलाएपछि प्रेमको पखेटाका चुलेत्रोका हाँगाहरूमा


निष्फिक्री नउड्न कहाँ सक्नु र ?



जन्मसँगै तय थियो मेरो भविष्य


लिपिबद्ध थिए संघार संघारमा संस्कारका साङ्लोहरू



उहिल्यै उहिल्यै


फूपूले गोरे दमाईसँग भागेर जाँदा


गाउँ नै मिलेर डाँडा कटाए रे


यस्तो डरलाग्दो दन्त्य कथा सङ्गै हुर्कियो बालापन




माथ्लो घरकी दिदिको रातो रूमाल


खसेपछि नालीछेऊमा


टिपेर दिनुभएछ सङ्ग्राम बहादुर सार्कीले


त्यसपछि छङ्छङ् बगेछ उनीहरूको प्रेमको नदी


तर मलाई त सुनाइरहियो


-गाउँ नै खनिएको थियो त्यो नदीमा आगो लगाउन भनेर


सम्झेर त्यो आँशुको आख्यान


सङ्ग्राम बहादुर सार्कीको अनुहारमा अहिले पनि बग्छ आक्रोशको नदी !



जुन "नदी" लाई चुपचाप चुपचाप मनपराउँछु म ।



अहिले पनि मिडियाहाउसले छापिरहन्छ


"नवराज" भएका प्रेमहरू


किबोर्डमा अधुरै रहन्छ श्रद्धाञ्जलीका अक्षरहरू


तर कोरिन्छ मनमा संकल्पका शब्दहरू



जुन "ग्रन्थ" ले भनिरहन्छ हामीबीच पर्खाल हुन्छ


जुन "समाज" ले भनिरहन्छ हामीबीच संघार हुन्छ


त्यही "ग्रन्थ" ले बनाएको


देवी देउराली भाकेर


किन हामीले सात जन्मको कसम खानु ??


किन "संस्कार"होममा दिइरहनु प्रेमलाई तिलान्जली ?



यदि यो समाजले थापिदियो भने "मर्यादाको बल्छी"


विस्फोट हुनेछ मेरो नैसर्गिक प्रेम


यदि यो समाजले लादिरह्यो भने "अछुत संस्कार"


उठ्ने छ मेरो माझी औंला


तर


लेख्न छोड्नेछैन नेभाराका दानाहरूभित्र प्रेम


हिड्न छोड्नेछैन चुलेत्रोका हाँगाहरूमा निष्फिक्री



मलाई थाहा छ


प्रेमले मानिसलाई बेहदै अराजक बनाउन सक्छ....


हो म त्यही अराजक प्रेमी हुँ


आकार हुँ यो सभ्यताले देखेका रक्तिम सपनाको


र यसबेला सोचिरहेछु-


यो शताब्दीले कहिले देख्छ मेरो जस्तै सपना ?




 
 
 

इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page