top of page
Search

विकास विनाशको अर्को नाम हैनः

मान्छेले चेतनशिल परिपक्क मान्छे हुं भनेर

विनासी विकासको लहर देखाएर

अहंकारी फणा उठाउंदै गर्दा


केवल एकबार

माटोको खजमजिएको निधारले

पसिनाको सिँचाइ नगर्दियोस्


आगोको हत्केलोमा एक डाडु पसिना भुलुक्क नउम्लियोस्


केवल एकबार

निमेषभर

बतासले विश्राम लिदियोस्

र प्राणले अन्सन बसोस्

तत्कालै मृत्यु ठिङ्ग उभियोस् अगाडि र फिस्स हासोस्

र सोधोस् अङ्क गणित — जीवनको

बादलले नाद गरोस् किन्तु नबर्साओस् पानी

वृक्षले फूल नलगाओस् फल नलगाओस्

अन्नले समाधि लिदियोस् तत्क्षण

र मरुमय बनून् सम्पूर्ण सम्पूर्णहरू

तत्कालै आन्द्रामा पहिरो जाओस्

अनि आन्द्रामा पहिरो गएको पेटले विद्रोह बोलोस्

र वक्रताको गति, यति र लय मिलाउने आदेश देओस्


केवल एकबार


मेटाउन भूलोस् ,

पानीले प्यास - जिज्ञासाको

रात्रीले निद - चयनको

भोजनले भोक - विचारको

औषधीले रोग - मानसिक

तत्कालै शोकले दुन्दुभि बजाओस् शनै शनै

र घन्काओस् कोलाहल नीरवताको


उदासीको चित्कारसहित एउटा आभासहीन अस्तित्व

उद्देश्यहीन—- अर्थहीन

निरन्तर ….निरन्तर व्याप्त होस्


यस्तैमा

अणु र परमाणुको घर्षण प्रतिघर्षण ठप्प होस्

सौर्यको तेज निस्तेज होस्

सोमको किरण परावर्तित होस्

धरित्रीले बेपर्बाह कक्ष चयन गरून्

कारणस्वरूप

दिग्देशमा कम्प आओस् यही बेला

थर्र ….थर्र… थर्र…. काँप उठोस् महि

जाठराग्नि सक्रिय बनोस्

उल्का खसोस् पेटको अन्तरिक्षमा


केवल एकबार

.

.

.

पुत्ताओस् बन्दुक

अकम्पनाले कम्प ल्याओस्

भयङ्कर सुरसा मुख आँ होस्

रुरुले ताण्डव गरोस्

रौरव अवतरित होस् थाप्लोमा

र शनै शनै गाइने दाइले सारङ्गी रेटेझैँ रेटिरहोस्

समयले आयुको गर्धन


तप् .. तप्.. तप् रक्त गिर्दै गर्दा

हेर्नु छ

केवल हेर्नु छ

द्रष्टा बनेर/साक्षी बनेर

यस्तोमा स्वयंले खडा गरेको वाद-को पर्खाल

रक्षार्थ खडा हुन्छ कि नाइँ

हेर्नुछ तिम्रो साइन्स एण्ड टेक्नोलोजी

हाइपरसोनिक बम र बारुद

सुरक्षार्थ तत्पर हुन्छ कि नाइँ


यदि तिम्रा वाद र टेक्नोलोजी

लाचार स्खलित लिङ्ग जस्तो निरीह बनेमा

थाहा नभएको अथाह थाह थाह लागोस् कि

बौद्धिकता विलासको अर्को नाम हैन

विकास विनाशको अर्को नाम हैन।

 
 
 

1 Kommentar


mainalimanuja780
29. Okt. 2022

यथार्थता लुकेको मानव मस्तिस्कको सोच परिवर्तन हुन जरुरी छ🙏

सार्है मार्मिक रचना

Gefällt mir

इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page